नेपाल कम्युनिस्ट पार्टीले नेपालको विद्यमान न्यायपालिका र सर्वोच्च अदालत भ्रष्टाचार, अनियमितता, सेटिङ, घुसखोरी, नातावाद, कृपावाद, दलगत स्वार्थ र सम्वन्ध लगायतका समस्याहरुबाट ग्रसित रहेको बताएको छ ।
पार्टीले भनेको छ, “यो समस्या व्यक्ति विशेषको मात्र नभएर नेपालमा सत्तासिन दलाल पुँजीवादी वर्गको संसदीय व्यवस्थाको गंभिर समस्या हो । यसको अन्तिम र रणनैतिक समाधान संघर्षरत पक्षले दलाल संसदीय व्यवस्था र भ्रष्ट एवं जनविरोधी न्यायपालिकाको अन्त्य गरेर नेपाली श्रमजीवी जनताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था र न्याय प्रणालीको स्थापनाबाट खोज्नु पर्दछ ।”
उपयुक्त राज्य व्यवस्थाका लागि जनमत संग्रह उपयुक्त राजनीतिक कार्यक्रम सिद्ध हुने नेकपाले बताएको छ । यस कार्यको शुभारम्भ र समस्याको तत्कालिन नियन्त्रणका निम्ति समस्यासंग सम्वन्धित प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणा लगायतका न्यायधिकारीहरुले राजिनामा दिएर मार्ग प्रशस्त गर्नु उचित ठहरिने पार्टीको धारणा छ ।





