परिणामका हिषावले तुलनात्मक रुपमा कम प्रभावकारी देखिएको छाडा पशुचौपायको व्यवस्थापन पश्चात पोखरा महानगरपालिकामा कुकुरहरुको दर्ता अभियान संचालन गरिएको छ । यस अभियान अन्तरगत घरमा पालिका कुकुरहरु अनिवार्य दर्ता गर्नु पर्नेछ भने वेवारिसे कुकुरहरुको सम्बन्धमा महानगर आफैले व्यवस्थापन गर्नेछ ।
महानगरपालिकाको तर्फबाट ति छाडा कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाईने छ भने, उनिहरुको प्रजनन प्रक्रिया रोक्नका लागि बन्ध्याकण पनि गरिने छ । यसो गर्दा पर्यटकिय शहर पोखरामा कुकुरहरुको आतंक कम हुने र शहरको सुन्दरतामा बढवा आउने महानगरको पशुसेवा शाखाका प्रमुख नवराज अधिकारी बताउँछन् ।
सिसिएमसंगको कुराकानीमा उनले भने, “पोखरामा संचालन गरिएको यस अभियानले कुकुरहरुको अभिलेखिकरण हुनेछ भने उनिहरुको स्वास्थ्य प्रति किसानहरुलाई थप सचेत बनाउनेछ । सडकमा छोडिएका कुकुरहरुको सम्बन्धमा पोखरा महानगरपालिका आफैले व्यवस्थापन गर्नेछ । उनिहरुलाई खोप लगाउने र संख्या नबढोस् भन्नका लागि बन्ध्याकरण पनि गरिने छ । यसो गर्दा कुकुरका कारण हुने दुर्घट्नाको जोखिम समेत कम हुनेछ ।”
पोखरा महानगरका विभिन्न स्थानहरुमा भेटिएका १ हजार ४ सय बढि कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाईएको प्रमुख अधिकारीले बताए । अधिकारीका अनुसार उनिहरुको बन्ध्याकरण समेत गरिएको छ । ति कुकुरहरुको पहिचानका लागि रङ् समेत लगाईएको छ । पोखरा महानगरपालिकामा हालसम्म ५ सय भन्दा धेरै किसानहरुले आफ्नो कुकुरको अभिलेख दर्ता गरेका छन् ।
पोखरा महानगरपालिकाको वडा नं. ८ बाट सुरु गरिएको यो अभियान सोमबारदेखी पोखरा ५ पनि सुरु गरिएको छ । पहिलो दिन विभिन्न प्रजातिका ५० भन्दा बढि कुकुरहरुको अभिलेख वडामा दर्ता भएको वडा अध्यक्ष धन बहादुर नेपालीले बताए । मानिसको सारथीका रुपमा स्थापित कुकुरमाथी गरिने अस्वाभाविक व्यवहार पशुअधिकारका हिषावले पनि अस्विकार्य हुने भन्दै उनले यसको दर्ता, रेखदेख र उसको स्वास्थ्य प्रति इमान्दार बन्न किसानहरुलाई आग्रह गरे ।
पोखरा महानगरपालिका वडा नं. १९ को अध्यक्ष समेत रहेका विधायन समितिका संयोजक शोभामोहन पौडेलले कुकुर पालनका सम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्नुपर्ने अवस्था देखिएको बताए । कुुकुरहरुको व्यवस्थापन र पालनको मापदण्ड सम्बन्धि एक विश्वासिलो ऐनको आवश्यकता देखिएको उनले बताएका हुन् । यस विषयमा गम्भिरतापुर्वक छलफल चलाउने उनले बताए ।
परम्परादेखी नै मानव मित्र र घरको सुरक्षाकबजका रुपमा नेपाली समाजमा स्थापित कुकुरहरु पछिल्लो पटक विभिन्न कारणले वेवारिसे बन्ने गरेका छन् । समयमा उसको आनीबानी तथा स्वास्थ्यको ख्याल नगर्ने र फोहोरी हुन थालेपछि अवहेलना गर्ने गरिएको प्रति गहिरो चिन्ता व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार