सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध फौजदारी अभियोगमा अनुसन्धान प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीका नाममा आदेश दिएको छ ।
न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले विप्लव माओवादीका नेता कुमार पौडेलको इन्काउन्टर भएको घटनामा जोडिएकाहरुविरुद्ध जाहेरी दर्ता लगायतका प्रक्रिया अघि बढाउन आदेश गरेको हो । कुनै व्यक्तिविरुद्ध किटानीसहित जाहेरी दर्ता गर्नु भनेको फौजदारी अभियोगमा अनुसन्धान अघि बढाउनु हो ।

‘यो आदेशको सूचना प्राप्त भएको मितिले सात दिनभित्र आफूसमक्ष प्राप्त भएको निवेदिकाको जाहेरी दर्खास्त जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीका जिल्ला न्यायाधिवक्ताको रोहवरमा–निवेदिकाबाट सनाखत गराउने उपयुक्त व्यवस्था मिलाई निवेदिका दुर्गादेवी पौडेललाई भरपाई उपलब्ध गराई यथाशिघ्र यस अदालतलाई जानकारी गराउनू’ आदेशमा भनिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाही स्रोतले उपलब्ध गराएको विवरण अनुसार, किटानी जाहेरीमा १० जना सरकारी अधिकारीहरुको नाम छ ।



