हत्या गरिएका मध्ये एक जनाको मोवाईल घरमा फेला परेपछि संखुवासभा सामूहिक हत्या प्रकरणमा हत्या आरोपीका भाई पनि पक्राउ परेका छन् । हत्या स्विकार गरेका २५ वर्षीय लोक बहादुरका भाई नरेशलाई सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश १ प्रहरी प्रमुख अरुण विसीका अनुसार नरेश माथी इलाका प्रहरी कार्यालय चैनपुरले थप अनुसन्धान गरिरहेको छ । सामूहिक हत्यामा ज्यान गुमाउने मध्ये एक जनाको मोबाइल लोकबहादुरको घरमा फेला परेका कारण नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।
लोकबहादुरले ६ जनाको हत्या गर्दा उनी पनि घटनास्थल आसपास मै रहेको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि उनले मोबाइल चोरेर लगेको हुनसक्ने प्रहरी स्रोत बताउँछ । संखुवासभाको मादी १ खोलागाउँमा २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो ।
घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।




