कास्की, पोखरा महानगरपालिका-२ अर्चलबोट बस्ने ३० वर्षीय अभिनाश शाही सहित ६ जनालाई करिब ४ सय ४४ ग्राम अवैध लागूऔषध गाँजा, ६ ग्राम १६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ, नगद ६४ हजार ७५ रुपैयाँ र डिजिटल तराजु सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा सेवन गरी मानिसहरु बसिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, पचरौता नगरपालिका-४ बेल्दारीबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-३ रामनगर बस्ने १९ वर्षीय दिलिप रामलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बीआर ०५ एबी ८०१६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बेल्दारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



