दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न साफले नेपाललाई आधिकारिक प्रस्ताव गरिएको छ । साफको १३ औं संस्करण आगामी अक्टोबरमा गर्ने सदस्य राष्ट्रहरुबिच सहमति भइसकेको छ । त्यसका लागि आयोजकको आधिकारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
शुक्रबार मात्रै साफ अक्टोबरमा गर्ने सहमति भएको थियो । यसअघि बंगलादेशले नै साफ आयोजना गर्ने भने पनि बढ्दो कोरोना संक्रमणका कारण आयोजना गर्न नसक्ने जानकारी दिएको थियो । त्यसपछि नेपाल, भारत र माल्दिभ्सले साफ आयोजनाको इच्छा देखाएका थिए ।
साफ महासचिव अनवरुल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई साफ च्याम्पियन आयोजनाको प्रस्ताव पठाएको एन्फाले जनाएको छ । एन्फा महासचिव तुलाधरले अब एन्फाले साफ च्याम्पियनसिका लागि विस्तृत प्रस्ताव बनाएर स्वीकृतिका लागि साफमा पठाउने बताएका छन् ।
एन्फाको प्रस्तावलाई अध्ययन गरेर साफ आयोजनाको अन्तिम निर्णय भने साफ अध्यक्ष र साफ कार्यसमितिले नै गर्नेले एन्फाले बताएको छ । साफ च्याम्पियनसिपमा यस पटक ५ टिम मात्र खेल्नेछन् । पाकिस्तान फिफाको प्रतिबन्ध, भुटान कोभिड–१९ का कारण सहभागि हुनेछैनन् । नेपालसँगै बंगलादेश, भारत, माल्दिभ्स र श्रीलंकाले मात्र साफमा सहभागिता जनाउनेछन् ।
यसअघि नेपालले सन् १९९७ र २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । यसैबिच नेपाली फुटबलको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबुदल्लाह अल्मुताइरीले भने पदबाट राजीनामाको घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार