नेपाल सरकारका नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा वि.स. २००३ जेठमा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका हुन् । उनले प्राथमिक शिक्षा डडेलधुरा कै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिएका थिए। उनि स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाउन थालिसकेका व्यक्ति हुन् ।
एलएसली दिएपछि देउवाले उच्च शिक्षाको लागि भारत नगइ वि.स २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भए । यसपछि उनि नेविसंघ भित्र राजनीतिमा सक्रिय भए । यसक्रममा उनि विभिन्न समयमा पटक पटक पक्राउ समेत परे । निडर स्वभावका देउवाले विद्यार्थीको हकहितमा प्रध्यापकसँग झगडा समेत गरे ।
नेविसंघमा सक्रिय भएर काम गरिरहेका देउवा विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी हुनपुगे । नेविसंघको नेतृत्वमा आएपछि उनले आफ्नो राजनीतिकलाई अझ सशक्त रुपमा अगाडि बढाए ।
विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाएका थिए । त्यतिबेला उनी भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा पुगेका थिए । जब वि.सं. २०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनाअन्दोलनको अगुवाइ र्गयो त्यतिबेला देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्ययन गरिरहेका थिए । यसपछि २०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं ओर्लिए ।
२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बने । गृहमन्त्री बनेको पाँच वर्षभित्रै उनि मुलुकको प्रधानमन्त्री बने े। राजनीतिको धेरै उतार चढाव खेपेका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा किशुनजी र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाए । कोइरालाले अघि बढाएका देउवाले पार्टीको दशौ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिए । २०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइराला कै विरुद्धमा सभापतिमा पदमा उम्मेदवारी दिए तर हार व्यहोरे ।
त्यतिबेला देशमा माओवादी जनयुद्धले पक्कड जमाइ सकेको थियो। कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गएको थियो भने एमालेले ५७ दिनसम्म संसद घेराउ गरेको थियो जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असार राजिनामा दिए । यसपछि फेरि कांग्रेसको नेतृत्व देउवा कै पक्षमा आयो र उनि पुनः कांग्रेस संसदीय दलको उम्मेदवार बने । सुशील कोइरालालाई हराएर उनि नेता बने । संसदमा पार्टीको बहुमत भएकाले उनि दोस्रोपटक प्रधानमन्त्री बने ।
राजनीतिक घटनासँगसँगै विंस २०६१ साल माघ १९ गते ज्ञानेन्द्रले शाही कू मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए । त्यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्र विरुद्ध जनान्दोलनको तयारीमा थिए । संसद पुनस्र्थापनापछि गिरिजाप्रसाद पुनः एक पटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आए । यसपछि देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टी मै फर्किए ।
नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा वि.सं २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय भए । सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष भएका उनि २०१३ देखि उक्त सगंठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष रहे । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताएका छन् ।
यसअघि देउवा आफ्नो जिवनमा चार पटक सम्म प्रधानमन्त्री भैसकेका व्यक्ति हुन् । उनि पछिल्लो पटक २०७४ साल जेठ ५ देखी नेपालको प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलंका, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्ट्जिरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया लगायत मुलुकको भ्रमण गरेका छन् । उनलाई आदलतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।




