इटली युरोकप २०२० को फाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी शुट आउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटली प्रतियोगीताको फाईनलमा प्रवेश गरेको हो ।
इसअघि इटलीका लागि फेडोरिको चीसाले खेलको ६० औँ मिनेटमा गोल गरेका भएपनि स्पेनका लागि ८० औँ मिनेटमा अल्भारो मोरोटाले गोल गर्दै बराबरी बनाएका थिए । निर्धारित समयको खेल १–१ बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा इटलीका तर्फबाट १ गोल भएपनि त्यसले मान्यता पाउन सकेन । अतिरिक्त समय गोल रहित बराबरीमा सकिएपछि पेनाल्टी शुट आउटबाट निर्णय लिनुपर्यो । पेनाल्टी शुटआउटमा इटलीले स्पेनलाई ४–२ ले पराजित गर्दै प्रतियोगीताको फाईनल यात्रा तय गरेको हो ।
यसअघि इटलीले क्वाटरफाईनलमा विश्व नं.१ बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने स्पेनले स्विजरल्याण्डलाई पेनाल्टी शुट आउटमा ३–१ ले पराजित गरेको थियो । इटली अव उपधीका लागि भोलि राति हुने प्रतियोगीताको दोस्रो सेमिफाइनलको विजेतासंग जुलाई १२ तारिकमा भिड्ने छ । दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्याण्ड भिड्नेछन् ।




