निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्को पुर्ननियुक्तीको विषय चर्को रुपमा उठिरहेका बेला नेपाल विद्युत प्राधिकरणकोे निमित्त कार्यकारी निर्देशक बनाईएका हितेन्द्रदेव शाक्यलाई निर्देशकमा नियुक्त गरिएको छ ।
सोमबार बसेको कामचलाउ सरकारको मन्त्रीपरिषक बैठकले कामु रहेका शाक्यलाई निर्देशकमा नियुक्त गरेको हो । ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बनाएको थियो । तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरणमा हाजिर गरिरहेका उपकार्यकारी मध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।
तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेका थिए । त्यसपछि शाक्यलाई प्राधिकरणको नेतृत्वमा ल्याइएको थियो । शाक्यले प्राधिकरण आउनुअघि प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङको नेतृत्व गरेका थिए ।
शाक्य प्रसारण लाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिएका थिए । प्राधिकरणबाट घिसिङ बाहिरिएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताएका थिए । उनले प्रणाली सञ्चालनमा स्नातकोत्तर पनि गरेका छन् ।




