घरबहाल सरोकार महासंघ नेपालको १० औं बार्षिकोत्सवको सन्दर्भमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति पोखराले अन्तरक्रिया कार्यक्रम गरेको छ । समितिका अध्यक्ष कमल न्यौपानेका अनुसार “घरधनी र व्यवसायीका वर्तमानका समस्या र चुनौती” विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सो कार्यक्रममा सहभागिहरुले दुवैका समस्या साझा भएका बताएका छन् । बैक तथा वित्तिय संस्थामा तिर्नु पर्ने किस्ता नै मुख्य समस्या भएकाले यसको सहजिकरण पहिलो प्राथामिकता हुनुपर्ने उनिहरुको तर्क छ ।
एकाध बाहेक अधिकांस घरधनिहरुले बैक तथा वित्तिय संस्थामा आफ्नो घर लोनमा रहेको बताउदै निरन्तर किस्ता तिर्नुपर्ने र भाडा नै आयको मुख्य स्रोत भएकाले शतप्रतिशत छोड्न नसकिने बताए ।
सरकारले पटक पटक एकोहोरो भाडा छुट दिन आग्रह गरेको भएपनि आफुले तिर्नु पर्ने किस्ताका बारेमा नबोलेको उनिहरुको गुनासो छ । तर, व्यवसायीहरुले भने लकडाउनको ३ महिना बढि समय बजारपसल पुर्ण रुपमा बन्द रहेकाले तत्काल भाडा भुक्तानी गर्ने अवस्था नरहेको बताउदै आएका छन् ।
विषम परिस्थितीमा घरभाडा छुट हुनुपर्ने उनिहरुको माग छ । भाडा छुटको माग गर्दा कतिपय घरधनिहरुले घरै खाली गर्ने जस्ता दवावहरु दिन थालेकाले थप मानसिक तनाव उत्पन्न भएको व्यवसायीहरुको भनाई छ ।
सरकारले पनि पछिल्लो पटक भाडामा छुट दिन र व्यवसायीहरुको दुखमा सामेल हुन घरधनिहरुलाई आग्रह गर्दै आएको छ । यता पोखरा महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघले पनि यस्तो आग्रह गरेका छन् ।
घरभाडा सरोकार समितिले यसविषयमा निरन्तर वकालत गर्दै आएको छ । समितिले घरभाडा छुटदिने व्यवसायीहरुलाई सम्मान समेत गरेको छ । पोखराको बजारमा अधिकांस व्यवसाय भाडामा संचालित छ ।




