कोरोना महामारीका कारण लकडाउन चलिरहेका बेला नेपाल पर्वतारोहण संघले चार जना कर्मचारीलाई हठात निष्कासन गरेपछि पोखरास्थित अन्तररास्ट्रिय पर्वतीय संग्रहालयका कर्मचारी आन्दोलित बनेका छन् । पोखराको रातोपहिरोमा रहेको अन्तररास्ट्रिय पर्वतीय संग्रहालय नेपाल पर्वतारोहण संघले संचालन गर्दै आएको छ ।
नेपाल पर्वतारोहण संघले केन्द्रमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दिनेश सिन्धुराकर र प्रशासकीय अधिकृत सामा श्रेष्ठ तथा पोखराको अन्तररास्ट्रिय पर्वतीय संग्रहालयमा कार्यरत प्रशासकीय अधिकृत ऋषिकान्त पौडेल र म्युजियम सहायक क्युरेटर राजन जोशीलाई तीनदिन अघि अवकास दिएको छ ।
यसैविषयलाई लिएर कर्मचारीहरु आन्दोलित बनेका हुन् । संघले अवकासपत्रमा भनेको छ, “हाललाई यहाँको सेवा आबस्यक नरहेकाले अवकाश दिइएको छ । नेपाल पर्वतारोहण संघको बिधानमा ‘जे लेखेको भएपनि संघले आवस्यक नठानेमा जुनसुकै बेला कर्मचारी बर्खास्त गर्नसक्ने” कुरा उल्लेख रहेको बताईन्छ ।
केन्द्रबाट निष्कासित प्रमुख प्रशासकीय अधिकृत सिन्धुराकर र प्रशासकीय अधिकृत श्रेष्ठले आफ्नो अवकाशपत्र बुझिसकेका छन् भने अन्तररास्ट्रिय पर्वतीय संग्रहालयका प्रशासकीय अधिकृत पौडेल र सहायक क्युरेटर जोशीले अवकाशपत्र बुझेका छैनन् । उनीहरुलाई अवकाशको जानकारी संघले इमेल मार्फत दिइसकेको बताइएको छ ।
जोशी अन्र्तरास्ट्रिय पर्वतीय संग्रहालय कर्मचारी युनियनका अध्यक्ष पनि हुन् । यो संस्था जिल्ला प्रशासनमा दर्ता प्रक्रियामा रहेको बताइएको छ । प्रशासकीय अधिकृत पौडेल र सहायक क्युरेटर जोशीको अवकाशपछि त्यहाँ कार्यरत कर्मचारीहरु अन्तररास्ट्रिय पर्वतीय संग्रहालय कर्मचारी युनियनको नेतृत्वमा आन्दोलनमा उत्रिएका छन् र उनीहरु संग्रहालय अगाडी धर्ना छन् ।
निष्काशित कर्मचारीहरुले आफुहरुलाई स्पस्टिकरण समेत नसोधी हठात सेवाबाट अवकाश दिइएको जिकिर गरेका छन् ।




