कास्कीको अन्नपूर्ण गाउँपालिकाले बुधवार एक कार्यक्रमका बीच आर्थिक वर्ष ०७७/०७८ का लागि कुल रु.६६ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले चालु तर्फ रु.४३ करोड २३ लाख १८ हजार र पुँजीगत तर्फ रु.२२ करोड ८८ लाख ८२ हजार विनियोजन गरिएको जानकारी दिइन् ।
जसअनुसार पूर्वाधार विकासतर्फ कुल रु. १६ करोड ५४ लाख, आर्थिक विकासतर्फ रु. ३ करोड ४९ लाख, सामाजिक विकासमा सबैभन्दा धेरै रु.३७ करोड ४० लाख ८७ हजार ८ सय ८०, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ रु. १ करोड १३ लाख तथा सुशासन र संस्थागत विकासतर्फ रु.७ करोड ५५ लाख १२ हजार १ सय २० विनियोजन गरीएको छ ।बजेट मार्फत कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिइएको दावी छ ।
गाउँपालिकाले हाल विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइसर(कोविड १९)बाट स्थानीय जनताहरुलाई सुरक्षित राख्ने एव् संक्रमणको सामना गरी जनतालाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने आयोजना तथा कार्यक्रम संचालन गर्ने, स्थानीयमा रोजगारी अभिबृद्घि गर्ने तथा पालिकावासीको जीवनस्तर बृद्घि गरी सम्मुनत र समृद्घ अन्नपूर्ण गाउँपालिका निर्माण गर्ने उद्देश्यका साथ बजेट ल्याएको हो।


कार्यक्रममा भनाई राख्दै उपाध्यक्ष गुरुङले सीमित स्रोतसाधनका बीच बजेट ल्याउनुपर्दा जनताले सोचे अनुसार विकास निर्माणतर्फ रकम विनियोजन गर्न नसकेको भनाई राखिन्।गत ३ वर्षको अनुभव हेर्दा सीमित बजेटमा समेत धेरै काम भएको उनको अनुभव छ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरले आर्थिक मन्दीका कारण सोचेअनुसारको बजेट ल्याउन नसकेको स्पष्ट पारे।उनले ल्याएको बजेटलाई कढाईका साथ कार्यान्वयन गराउन सरोकारवाला सबैले आ–आफ्नो तर्फबाट पहल गर्नेपर्ने खाँचो औल्याए।
बुधवार सम्पन्न आठौं गाउँसभाको दोस्रो बैठकले आर्थिक ऐन र विनियोजन विधयेक २०७७ तथा वार्षिक विकास कार्यक्रमहरु र त्यससँग सम्बन्धीत विभिन्न अनुसुचीहरु पारित पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार