पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । पोखरा सभागृहमा जारी महानगरको सातौ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले रु. ६ अर्ब १९ करोड बढिको अनुमानित बजेट पस्तुत गर्नुभएको हो ।
यसमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत रु.२ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान सहित अन्तर सरकारी अख्तियारबाट ८५ करोड प्राप्त हुने गुरुङले बताउनुभयो । उहाँका अनुसार राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको उपप्रमुख गुरुङ्ले बताउनुभयो । यसअघि महानगरका प्रमुख मान बहादुर जिसिले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।




