त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लव पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा मनाङले आर्मीलाई ३—२ को गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
चैत एक गते हुने फाइनल खेलमा मनाङले उपाधि सहित १० लाख १ हजार नगद पुरस्कारका लागि विभागिय टोली नेपाल पुलिस क्लवसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । मनाङको जितमा म्यान अफ दी म्याच घोषित विदेशी खेलाडी फ्लोरेन्ट, विमल राना र अञ्जन विष्टले एक÷एक गोलको योगदान दिएका थिए । मनाङका प्रशिक्षक फुजा टोपले पुलिस बिरुद्धको खेलमा उत्कृष्ट खेल प्रर्दशन गरी जित निकाल्ने दाबी गरेका छन् । आहारारामा ९ पटक सहभागि भएको मनाङले ५ पटक उपाधि जितेको छ ।




