फागुनको चौथो साता पोखरामा कृषि एवम् पर्यटन महोत्सव हुने भएको छ । साझा सहारा नेपालको आयोजनामा पोखराको पुरानो टुँडिखेलमा ‘प्रथम कास्की कृषि एवम् पर्यटन महोत्सव २०२०’ हुन लागेको हो । महोत्सव यहि फागुन २३ गतेदेखि २८ गतेसम्म हुने सोमबार आयोजक साझा सहारा नेपालले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो । मौलिक कला, संस्कृतिहरुको संरक्षण, सम्बद्र्धन गर्दै स्थानिय उत्पादन, सीप तथा क्षमताको उचित व्यवसायीकरण गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
साथै समाजिक उत्थान र विकासमासमेत टेवा पु¥याउन महोत्सवको उद्धेश्य रहेको साझा सहारा नेपालका अध्यक्ष भीमसेन नेपालीले बताउनुभयो । महोत्सवमा कुल ७० स्टल रहने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा उद्घोषण आइडल हुने भएको छ । उद्घोषण कलाको विकासका लागि आयोजित प्रतियोगितामा बिजेता बन्नेलाई नगद ५० हजार प्रदान गरिने मेला सह–संयोजक बाबुराम नेपालीले जानकारी दिनुभयो । यस्तै पञ्चे बाजा प्रतियोगिताको बिजेतालाई नगद ५० हजार, उपबिजेतालाई २५ हजार, तेश्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार प्रदान गरिने छ । महोत्सवको अवसरमा ३ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने साझा सहारा नेपालले जनाएको छ ।




