१८ औ संस्करणको आहा रारा गोल्ड कप २०७६ मा पुरस्कारको नगद राशि वृद्धि गरिएको आयोजक साहारा क्लवले जनाएको छ । क्लवका अनुसार १८ औ संस्करणको विजेताले नगद रु.१० लाख १ हजार र उपविजेताले नगद रु.५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसअघि सम्पन्न प्रतियोगिताको १७ औँ संस्करणमा विजेता टिमलाई नगद रु.८ लाख र उपविजेतालाई ४ लाख रुपैयाँ प्रदान गरिएको थियो ।
यहि फाल्गुन २२ देखी चैत्र १ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगीतामा १० टिमले सहभागिता जनाउने क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार रुसलान थ्रिस्टार क्लब,त्रिभुवन आर्मी क्लब, नेपाल आयल निगम मनाङ् र्मस्यादी क्लब, ब्रिगेट व्बाईज क्लब, नेपाल पुलिस क्लब, नेपाल ए.पि.एफ क्लब, संकटा क्लब, झापा ११ फुटबल क्लब, गान्टोक सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लब पोखराले प्रतियोगीतामा सहभागीता जनाउने छन् ।
खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ क्याराभान गोल्ड कप सहित १९ वर्ष देखी निरन्तर सञ्चालन हुदै आएको यस प्रतियोगिता मोफसलको बहुप्रतिष्ठित प्रतियोगीता हो । प्रातियोगितामा १ करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी र ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरिएको अध्यक्ष केशव बहादुर थापाले जानकारी दिनुभयो ।
बचत रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल एकेडेमीमा तेश्रो व्याचका १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । पोखरा—१७ दोविल्लामा रहेको एकेडेमी संञ्चालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको रहेको क्लवले जनाएको छ ।




