विभागीय डर्बीमा एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोमा बिहिबार भएको खेलमा एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्समा आर्मीको जितमा सन्तोष तामाङ नायक बने । जितसँगै आर्मीले ११ खेलमा २६ अंक जोडेको छ । र, मछिन्द्र फुटबल क्लबलाई १ अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको २५ अंक रहेको छ । बिहिबार नै सरस्वतीलाई ६–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र केहि घण्टाको लागि शीर्ष स्थानमा उक्लिएको थियो । आर्मीसँगको हारसँगै एपीएफलाई भने रेलिगेशनको डर कायम रहेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफको ५ अंक रहेको छ ।




