अन्नपुर्ण गाँउपालिका वडा नं. ३ पाउँदुर स्थित हंसेश्वर पशुपतिनाथ शिवालय मन्दिर धारापानीमा श्री शिवमहापुराण धनधान्याञ्चल महायज्ञ २०७६ हुनेभएको छ । आगामी माघ १० गतेदेखी १८ गतेसम्म उक्त महायज्ञ आयोजना गरिएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । १ सय ११ वर्ष पुरानो ईतिहास बोकेको पशुपतिनाथ शिवालय मन्दिरको सामाजिक कल्याण र हितका लागि थप रुपान्तरण र विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको समितिका महासचिव हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।
महासचिव शर्माका अनुसार महायज्ञमा शिवमहापुरान संगितमय कथा बाचन तथा पाठ परायण, रुद्राभिषेक, हवन, धनधान्याञ्चल, तुलादान, वेदपाठपरायण, चण्डिपाठ लगायतका अनुष्ठानहरु समावेश गरिने छ । मन्दिर पुर्ननिर्माण गरि उचित स्वरुप प्रदान गर्ने, नित्य पुजा कार्यका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यिय धर्मशाला भवन निर्माण गर्ने, मुख्य प्रवेशद्धार निर्माण गरि शिवालय परिसरलाई पक्कि पर्खाल लगाउने, पोखरा बाग्लुङ् राजमार्गमा जोडिने देउराली भकर्जुङ र ढिकुरपोखरी भदौरे सल्यान मार्ग निर्माणका लागि जागरण पैदा गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई टेवा प्रदान गर्ने लगायतका उद्देश्यहरु महायज्ञले लिएको छ ।
साविक ढिकुरपोखरी वडा नं. ५ हाल अन्नपुर्ण गाँउपालिका कै ऐतिहासिक गहना एंव हजारौँ घरधुरीको बसोबास रहेको उक्त क्षेत्रको विकासमा सम्बन्धित निकायको यथोचित ध्यान पुग्न नसकेको विद्यमान परिस्थितीमा महायज्ञ सफलतापुर्वक सम्पन्न गरि संकलित दान रकमले विकास निर्माण थालिने आयोजकले बताएको छ । समाज एंव सर्वजन कल्याणार्थ आध्यात्मिक चेतना एंव सनातम धर्म संस्कृति प्रति जागरण तथा सामाजिक विकासका खातिर आयोजित महायज्ञमा भागतव भाष्कर युवा पण्डित कमलनयन गौतमले कथा बाचन गर्ने कार्यक्रम रहेको छ ।
तर, पछिल्लो समय पुण्यआर्जनका लागि आयोजना गरिने यस्ता प्रकारका महायज्ञ एंव धार्मिक कार्यक्रमका नाममा विकृति बढिरहेका गुनासो समेत सुन्नमा आउने गरेका छन् । दानविरहरुले सामाजिक प्रतिष्ठाका लागि आफ्नो आर्थिक क्षमता भन्दा बढि रकम उधारो बोल्ने, वर्षौसम्म पनि सहयोग उपलब्ध नगराउने, पण्डितहरुले आफुखुसि अस्वाभाविक रुपमा दान अर्थात दक्षिणा माग गर्ने, संचालक समितिहरुले मानेमानी रुपमा आर्थिक हिनामिना गर्ने, तोकिएको लक्ष्य भन्दा फरक प्रयोजनमा रकम खर्च गर्ने लगायतका समस्याहरु हुने गरेका गुनासोहरु सुनिन्छ । तर, साँचो मनले गरिएका पवित्र महायज्ञहरुले सामाजिक विकासमा अतुलनिय योगदान गरेका पण्डित गौतमको तर्क छ ।
पछिल्लो पटक शैक्षिक उन्नयन र मठमन्दिरहरु निर्माणका खातिर निकैको संख्यामा यस्ता प्रकारका महायज्ञहरु संचालन गर्ने प्रचलन बढेर गएको छ । यसैको निरन्तरताका रुपमा अन्नपुर्णको पाँउदुरमा रहेको शिवालय मन्दिरको जिर्णोदार गर्ने पवित्र लक्ष्यका साथ यो महायज्ञ आयोजना गरिएको हो ।




