सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा १० खेलाडीमा सिमित मनाङ हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । रोमान्चक बनेको खेलमा पाएको अवसरमा गोल गर्न नसक्दा दुवै टोलीले एक एक अंक बाडेका हुन् । शेर्पासँगको बराबरीसँगै मनाङले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । मनाङले ६ खेलमा १२ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ । लिगमा मनाङको यो तेस्रो बराबरी हो । मनाङलाई बराबरीमा रोकेको शेर्पाले ६ खेलमा ४ अंक जोडेको छ । शेर्पा तालिकाको ११ औं स्थानमा रहेको छ ।




