सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे । बलियो प्रतिद्वन्द्वी च्यासललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको जावलाखेलले दोस्रो हाफमा दुई गोल गरेको थियो ।
खेलको ८१ औं मिनेटमा रुप बहादुरले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । विजय घलानको पासलाई उनले डिबक्स बाहिरबाट पोस्टको जाली चुमाएका थिए । त्यसको दुई मिनेटपछि ८३ औं मिनेटमा विजयले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । उनले च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएको रिबाउन्डमा गोल गरेका थिए । त्यसअघि पहिलो हाफमा च्यासल हाबी भएको थियो । तर, च्यासलले गोल गर्न सकेन । जितसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले ४ खेलमा ८ अंक जोडेको छ । च्यासल ४ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यस्तै मंगलबार नै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले हार व्यहोरेको छ । शेर्पालाई ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले पराजित र्गयो । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा बीबीसीलाई १–० ले जिताउनेक्रममा खेलको १७औं मिनेटमा विजय गुरुङले निर्णायक गोल गरे । लिग अन्तर्गत् बुधबार पनि दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा बिहान साढे ११ बजे संकटा क्लब र नेपाल पुलिस क्लब तथा दिउँसो ३ बजे आर्मी र थ्रीस्टार भिड्नेछन् ।




