सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्समा मछिन्द्रलाई जित दिलाउन एडिलाजा सोमिडेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा एडिलाजाले हेडमार्फत निर्णायक गोल गरेका हुन् । मछिन्द्रलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए । मछिन्द्रले ४ खेलमा ९ अंक जोडेको छ । मछिन्द्रले ३ खेलमा जित र १ बराबरी खेलेको छ । ४ खेलमा ४ अंक जोडेको एनआरटी लिगको छैटौं स्थानमा रहेको छ । लिगमा एनआरटीको यो दोस्रो हार हो । यस्तै सोमबार नै भएको अर्को खेलमा साविक विजेता मनाङ मसर््याङ्दी क्लब बराबरीमा रोकिएको छ । सोमबार भएको खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । मनाङको लागि रन्जन बिष्टले एक गोल गरे । फ्रेन्ड्सका उत्तम गुरुङले एक गोल फर्काए । फ्रेन्ड्ससँग बराबरीमा रोकिएपनि मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले ४ खेलमा १० अंक जोडेको छ ।




