आफ्ना नागरीकहरुको नागरीक तथा राजनीतिक र आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारहरुको रक्षाका लागि राज्य नै गम्भिर हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीद्धारा पोखरामा आयोजित “नागरीक तथा राजनीतिक र आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार” सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै उनिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाकी उपसभामुख सृजना शर्माले संविधानमा समान अधिकारको व्यवस्था गरिएकाले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । प्रदेशसभाको विधायन समितिका सभापति मोहन प्रसाद रेग्मीले नागरीकका अधिकार स्थापित, रक्षा र कार्यान्वयनमा थुप्रै चुनौतीहरु रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति कास्कीका संयोजक बैन बहादुर क्षेत्रीले कानुन निर्माणका क्रममा भएका कमजोरीहरुको सुधार आवाश्यक रहेको बताउनुभयो । सवैखाले मानव अधिकारको रक्षाका लागि एकिकृत प्रयास आवाश्यक रहेकामा उहाँले जोड दिनुभयो । गैर सरकारी संस्था महासंघ कास्कीकी अध्यक्ष एंव अधिकारकर्मी बिना सिलवालले अधिकारका लागि सवै सचेत हुनु पर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक एसपी दान बहादुर कार्कीले सम्पुर्ण रुपले मानवअधिकार रक्षामा प्रहरी प्रतिवद्ध रहेको बताउनुभयो । अनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले इन्सेकले मानव अधिकारको विश्वव्यापी मान्यताका मुलभुत पक्षहरुमा निरन्तर पैरवी गर्दै आईरहेको बताउनुभयो ।




