राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विनासकारी भूकम्पबाट क्षति भएका संरचनाको पुननिर्माणको काम ८३ प्रतिशत प्रगति भएको जनाएको छ । स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले ६ वटा क्षेत्रमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको र १४ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जानकारी दिएको हो । प्राधिकरणले शून्यबाट पुनर्निमाण थालेको भए पनि अहिले गौरव गर्नलायक प्रगति हासिल भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । उहाका अनुसार निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनको पुनर्निर्माण प्राधिकरणबाट भइरहेको छ । प्राधिकरणका अनुसार, ४ वर्षको अवधीमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको छ ।
यस अवधिमा भूकम्पबाट क्षतिग्रस्त ४ लाख ८२ हजार ३ सय २३ घर बनिसकेका छन् । १ लाख ८९ हजार घर बनिरहेका छन् । यस अवधिमा २ खर्ब ९३ रुपैयाँ खर्च भइसकेको छ । गैरसरकारी संस्थामार्फत ४२ अर्ब गरी कुल ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको छ । बाँकी काम पूरा गर्न अझै ३ खर्ब रुपैयाँ आवश्यक रहेको प्राधिकरणले जनाएको छ । ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृति भइसकेको र समध्ये २२ वटाको काम सुरु भएको छ भने तीनवटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको ज्ञवालीले बताउनुभयो । स्वयम्भूको प्रतापपुर, अनन्तपुर, बौद्ध स्तूपा, पाटनको कृष्ण मन्दिर, हनुमान ढोकाको गद्दि बैठक, साँखुको बज्रयोगिनी, प्रसुति गृह, वीर अस्पताल, नेपाली सेनाको जंङ्गीअड्डा लगायतको पुनर्निर्माण सम्पन्न भइसकेको तथा धरहरा, रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर दरबार, नुवाकोट दरबार, सिंहदरबार (उत्तर, पूर्व, दक्षिण र पश्चिम भाग), दरबार हाइस्कूल जस्ता मुख्य संरचनाहरुको पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।




