गुरुङ समुदायको महान पर्व तमु ल्होसार च्यु ल्हो –मुसा वर्ग २०७६ को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । तमू ल्होसार मुल आयोजक समिति २०७६ ले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी पौष १३, १४ र १५ गते विशेष कार्यक्रम गरी काठमाडौको टुंडिखेलमा मनाइने पर्वको सबै तयारी पूरा भएको जानकारी दिइएको हो । तमु ल्होसार फो ल्होको विदाई तथा च्यू ल्होको स्वागत गरी तीन दिन सम्म विविध कार्यक्रमको आयोजना गरी मनाउन लागिएको आयोजक समितिका महासचिव लोक बहादुर गुरुङले जानकारी दिनुभयो ।
राष्ट्रिय पर्व तमु ल्होसार च्यु ल्हो –मुसा वर्ग २०७६ को आव्हान । अस्तिव्त र मौलिक पहिचानको लागी तमुवानको अभियान भन्ने मुल नाराका साथ यस वर्ष तमू ल्होसार मनाउन लागिएको उहाँको भनाई छ । फो ल्होको विदाई तथा च्यू ल्होको स्वागत सँगै पुरोहितबाट ग्रह शान्ति पौष १४ गते राति १२ बजे हुने आयोजकले जनाएको छ । कार्यक्रममा लोक दोहोरी, खेलकुद कार्यक्रम,झाँकी ¥याली, नृत्य प्रतियोगिता लगायत रहेको जानकारी दिइएको छ ।




