संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ । भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आइतबार शैक्षिक क्षेत्रका संस्थाहरुसँगको छलफलमा उहाँले भ्रमण वर्ष सबैको साझा अभियान भएकाले यसलाई देशकै महोत्सवका रुपमा मनाउन सहकार्य र समन्वयात्मक ढङ्गले अघि बढाउन जरुरी भएको उल्लेख गर्नुभयो ।
उहाँले सन् २०२० लाई आधार मानेर नेपालको पर्यटनको एक दशकका रुपमा लिएर पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय पूर्वाधारको कामलाई विशेष प्राथमिकताका साथअघि बढाइने उल्लेख गर्नुभयो । मन्त्री भट्टराईले शैक्षिक क्षेत्रमा आबद्ध संस्थाको अन्तरराष्ट्रिय सम्पर्क सञ्जाल व्यापक रहेको हुनाले भ्रमण वर्षका गतिविधि र सम्बन्धित सामग्रीको प्रभावकारी प्रयोग गर्न आग्रह गर्नुभयो ।




