क्युवाका राष्ट्रपति मिगेल डियाज–केनेलले म्यानिअल मर्रेरो क्रुजलाई देशको प्रधानमन्त्री चयन गर्नुभएको छ । १६ वर्षदेखि देशको पर्यटनमन्त्री रहँदै आएका मर्रेरो पाँच वर्षको लागि प्रधानमन्त्री चयन हुनुभएको हो । क्युवामा ४३ वर्षपछि प्रधानमन्त्रीको पद पुनःस्थापना गरिएको हो । सन् १९५९ मा क्रान्ति सफल भएपछि सन् १९७६ सम्म फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पद मार्फत कार्यकारी अधिकार प्रयोग गर्नुभएको थियो । पछि राज्य परिषदको राष्ट्रपति पद सिर्जना गरेर प्रधानमन्त्री पद खारेज गरिएको थियो ।

मर्रेरोको चयनलाई क्युवाको नेसनल एसेम्ब्लीका ५९४ डेपुटीले सर्वसम्मतीमा अनुमोदन गरेका छन् । क्युवामा अहिले डियाज–कनेल राष्ट्र प्रमुख हुनुहुन्छ भने राहुल क्यास्ट्रो सत्तारुढ कम्युनिस्ट पार्टीको अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्रीको कार्यभार स्पष्ट नगरिएको भएपनि क्रुजले क्युवाली सरकारको दैनिक काम व्यवस्थापन गर्ने र राष्ट्रपतिलाई त्यसको जानकारी गराउने अपेक्षा गरिएको छ । क्युवाले सन् २०१९ फेब्रुअरीमा जनमतसंग्रह मार्फत नयाँ संविधान अनुमोदन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार