सेञ्चुरी युवा क्लव अन्नपूर्ण गाउँपालिका ११ को आयोजनामा यहि पुस ५ गतेबाट ९ गतेसम्म छोम्रोङमा हुने सेञ्चुरी ल्होसार मेला–२०७६ को तयारी पुरा भएको छ । मेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ तथा समापन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने कार्यक्रम रहेको छ । मेला अन्र्तगत पुरुष भलिवल, महिला भलिवल, पुरुष वास्केटबल, पौढ भलिवल, छेलो, रस्साकस्सी, घैटो फुटाई, म्यूजिकल चियर, बोरा दौड तथा सामूहिक नृत्य प्रतियोगिता हुनेछन् ।
पुरुष भलिवलतर्फ प्रथम समूहले ८० हजार, दोस्रोले ५० हजार, महिला भलिवलमा प्रथमले ५० हजार र द्वितियले ३० हजार, बास्केटबलतर्फ प्रथमले ८०, द्वितियलाई ५०, पौढ भलिवलमा पहिलोले २० तथा द्वितियले १० हजार रुपैयाँ पुरस्कार पाउने क्लवका अध्यक्ष मिकाश गुरुङले जानकारी दिनुभयो । यस्तै छेलोतर्फ प्रथमले ५ हजार, दोस्रोलाई ३ हजार, रस्साकस्सीमा पहिलोले १० हजार र दोस्राले ५ हजार, घैटो फुटाई साथै म्यूजिकल चियरमा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । क्लवले गुरुङ संस्कृति झल्कने सामुहिक नृत्य प्रतियोगिता पनि राखेको छ । जसमा प्रथम समूहले ५० हजार, द्वितियले ३५ हजार, तृतीयले २० हजारका साथमा ट्रफी र प्रमाणपत्र तथा उत्कृष्ठ भेषभुषा तथा नृत्य निर्देशकलाई समान पाँच हजार साथमा प्रमाणपत्र पुरस्कार दिइने जनाएको छ ।




