आज किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पुन्ही पर्व मनाईरहेका छन् । उधौली र योमरी पुन्हीको अवसरमा सरकारले सम्बन्धित पर्व मान्ने समुदायलाई मात्र बिदा पनि दिएको छ । आज किराँत समुदायले खेतबारीमा पाकेको अन्न आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन् । यो पर्वलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम नामले मनाउने प्रचलन छ । किराँत भित्रका विभिन्न जातजातिले यो पर्वलाई फरक–फरक नाम दिएपनि समग्रमा उधौलीका नामले चिनिन्छ ।
यस्तै नेवार समुदायले आज योमरी पूर्णिमा बनाईरहरेका छन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर आज साँझ यस वर्ष भित्र्याएको अन्न बाली, भकारी पूजा गर्ने चलन छ । धानबाली थन्क्याएर काम सक्ने र नयाँ चामलका विभिन्न परिकार बनाई कुल तथा पितृलाई चढाएर खान सुरु गरिने भएकाले यस दिनलाई धान्यपूर्णिमा भनिएको हो । सो दिन नेवारी समुदायमा नयाँ चामलको पिठोलाई माछाको जस्तो आकार बनाई चाकु, तिल, खुवा आदि राखेर पानीको बाफमा पकाई योमरी तयार पार्ने र कुल तथा पितृलाई चढाएर प्रसादको रूपमा सबैलाई बाँडेर खाने चलन छ । पोखरामा रहेका नेवार तथा किराँत समुदायले पनि साँस्कृतिक पर्वका रुपमा योमरी र उधौली मनाईरहेका छन् ।




