१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा माल्दिभ्सलाई २(१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १(० को अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा फर्काए । अभिषेकले डिबक्स बाहिरबाट उत्कृष्ट भली गोल गरेका थिए । त्यसपछि खेलमा ५२ औं मिनेटमा डिफेन्डर अनन्त तामाङले कर्नर बलमा हेड गोल गर्दै नेपाललाई २–१ को जित दिलाए । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । माल्दिभ्सको भने स्वर्ण सम्भावना सकिएको छ । नेपालले ३ खेलमा ७ अंक जोडेको छ । र, नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले स्वर्ण पदकका लागि खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार