१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई हराएको हो । नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रनमा समेटियो । माल्दिभ्सको तर्फबाट मोहम्मद अजिमले १६ रन बनाए । नेपालको तर्फबाट सुशन भारी र ललितनारायण राजवंशीले २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

नेपालको तर्फबाट आठौं नम्बरमा आएक करण केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर बढाएका थिए । उनले अन्तिम ओभरमा २ छक्का र ४ चौका प्रहार गरेका थिए । माल्दिभ्सले अन्तिम ओभरमा २४ रान दिएको थियो । यस्तै दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ३९ रन बनाए । माल्दिभ्सको तर्फबाट लिम साफिगले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए भने अमिल मोरुफले २ विकेट लिए । त्यस्तै शुक्रबार नै भएको पहिलो खेलमा बंगलादेश यु २३ ले भुटानविरुद्ध १० विकेटेको जित निकालेको छ । लगातार २ खेलमा जित हात पार्दै ४ अंकका साथ बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले ६.५ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको हो । पहिला ब्याटिङ गरेको भुटानले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार