बंगलादेशको ढाकामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिम शुक्रबार स्वदेश फर्किएको छ । प्रतियोगिताको कुनै पनि खेलमा पराजय नभोगी च्याम्पियन बन्न सफल नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल लगाएत भलिवल संघका पदाधिकारीहरुले त्रिभूवन अन्तराष्ट्रिय विमानथलमास्वागत गरेका थिए । खेलाडीलाई स्वागत गर्दै सदस्य सचिव सिलवालले नेपाली टिमका सबै सदस्यलाई पुरस्कार स्वरुप तीन–तीन लाख रुपैयाँ दिने घोषणा गरे । खेलाडीलाई स्वागत गर्नका लागि पूर्व खेलकुद मन्त्री दलजित श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल भलिबल संघका पदाधिकारी तथा खेलप्रेमीहरु विमानस्थलमा पुगेका थिए ।
स्वदेश फर्केपछि राष्ट्रिय टिमका कप्तान अरुणा शाहीले जितले अवको दिनमा निकै राम्रो गर्नुपर्ने चूनौत थपिएको बताइन् । त्यस्तै नेपाल राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले जित्नै पर्ने मनस्थीतिले बंगलादेश गएका कारण जित हासिल गरेको बताउनुभयो । उहाले साग खेलमा पनि नेपालको खेल उत्कृष्ठ बनाउने बताउनुभयो । २० वर्षे भलिबल इतिहासमा नेपाली महिला टोलीले प्राप्त गरेको यो पहिलो स्वर्ण पदक हो । प्रतियोगितामा नेपाली प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । प्रतियोगिताकै उत्कृष्ट स्पाइकरको उपाधि पनि प्रतिभाले नै जितेकी थिइन् । यस्तै सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो घोषित भएकी थिएन् ।




