संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई सुधार गरेर राष्ट्रिय ध्वजा बाहकलाई माथी उठाउनुको विकल्प नभएको बताउनुभएको छ । सिंहदरबारमा बुधबार बसेको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा उहाले निगमलाई सुधार गर्न नसके र अहिलेकै अवस्थामा रहे निगम बन्द गर्दा हुने धारणा पनि राख्नुभयो । निगमलाई सुधार गर्नका लागि पर्यटनमन्त्रालयले बनाएको समितिको प्रतिवेधनका आधारमा राष्ट्रिय ध्वजा बाहकको सुधार कार्य अघि बढाउने उहाले बताउनुभयो । उहाले रणनीतिक साँझेदार भित्र्याउने, व्यवस्थापन करारमा दिने लगायतका विकल्प खोजेर निगमको सुधार गरिने पनि बताउनुभयो ।
नेपाल भ्रमण वर्ष २०२० मा पर्यटन उपभोक्ताका अधिकारलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री भट्टराईले बताउनुभयो । उहाले आन्तरिक ४०० र अन्तराष्ट्रय एक सय उडान अन्तराष्ट्रिय बिमानस्थलबाट हुने गरेको भन्दै त्यसैका कारण ट्राफिक समस्या आएको जिकिर गर्नुभयो । उहाले अन्य स्थानको अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्यपनि तिव्र गतिमा अघि बढेको धारणा राख्नुभयो । बैठकमा सांसदहरुले निगमले आर्थिक अवस्थाकासाथै गुणस्तरमा पनि सुधार गर्न नसके बन्द गर्दा हुने धारणा राखेका थिए । त्यस्तै उनीहरुले विमानस्थलमा विद्यमान समस्याले भ्रमण बर्षलाई पनि असर पर्न सक्ने तर्क गरेका थिए । छलफल पछि समितिले निगम र बिमानस्थल सुधारका कार्यलाई अघि बढाउनका लागि मन्त्रालयलाई सुझाव दिएको छ ।




