पोखराका फुटपाथे व्यवसायी र प्रहरी बिच विबाद उत्पन्न हुदा धकलाधकेल भएको छ । फुटपाथे व्यवसायीहरुले पोखरा महानगरमा जग्गा उपलब्ध गराउन माग गर्दै नारा जुलुस गरेर महानगर भित्र प्रबेश गर्न खोज्दा प्रहरीले उनीहरुलाई कार्यालय प्रबेशमा रोक लगाउदा दुबै पक्ष बिच धकेलाधकेल भएको हो । महानगरको मुलगेटमा बसेका प्रहरीले महानगर भित्र प्रबेश गर्न खोज्ने फुटपाथे व्यपारी तथा व्यवसायीहरुलाई हटाउन खोज्दा दोहोरो पक्ष बिच सामान्य भनाभनसंगै धकेलाधकेल भएको एक फुटपाथे व्यवसायी जमुना केसीले बताइन्। एकल महिला केसी आफ्नो परिवार धान्न पनि बाध्य भएर सडक फुटपाथमा व्यापार गर्न बाध्य भएको गुनासो गरिन् । उनले आफुहरुलाई कुनै विकल्प दिनुपर्ने अन्यथा आफ्नो दैनिकी चल्न कठिन भएको बताइन्। होटलमा भाडा समेत माझेर काम गर्दा आफ्नो घरखर्ची नचलेसंगै विकल्पको रुपमा फुटपाथमै व्यवसाय गर्न लागेको उनले बताइन्। ८÷९ बर्ष देखि सडक छेउछाउमा फलफुल व्यापार गर्दै आएकी बागलुङकी सिता दास हाल आलुमाइला चोकमा भाडामा बस्दै आएकीछन् । हङकङ बजार जस्तै हामीलाई पनि त्यस्तै सहुलियतमा ठाउँ उपलब्ध गराउन महानगरसंग उनले आग्रह गरेकीछन्। श्रीमानले पनि नहेरे पछि दुई जना छोराछोरीको पालन पोषण गर्न पनि बागलुङकी कोपिला परियार ८÷९ बर्ष देखि पोखराको सडकको फुटपाथमा व्यवसाय गर्दै आएकीछन्। उनले भनिन“ मेरो कुनै लगानी गर्ने धन सम्पति छैन्, महानगरका नगर प्रहरीको त्रासमा दैनिक पोखराको सडकको फुटपाथमा व्यापार गर्दै आएकी छु, मेरो यसको कुनै विकल्प छैन्।”
पोखराका फुटपाते व्यावसायी एवं व्यापारीहरुले आफुहरुलाई बिकल्प दिनुपर्ने माग राख्दै पोखरा महानगरपालिकामा धर्ना दिएकाछन्। पोखरा क्षेत्रमा जथभावी रुपमा देखा परेका फुटपाथलाई व्यबस्थापन गर्न महानगरले कारवाही गर्ने अल्टिमेटम दिएसंगै पोखराको पुटपाथ एवं सडक छेउमा व्यापार गर्दै आएकाहरुले बुधबार महानगरमा धर्ना दिदै नारा जुलुस प्रर्दशन गरेका थिए । विभिन्न समस्याले गर्दा सडकमा व्यापार गर्न आफुहरु बाध्य भएको बताउने उनीहरुले आफुहरुलाई सहुलियतमा कुनै ठाउँमा जग्गा व्यवस्थापन गर्न समेत महानगर समक्ष माग गरेकाछन्। पोखराको पृथ्बीचोक क्षेत्रको सडक तथा फुटपाथमा विगत २०४३ साल देखि फलफुल व्यवसाय गर्दै आएका ६७ बर्षीय जय बहादुर खत्री पटक पटक महानगरको कारवाहीमा परेको भए पनि बाध्य भयर फुटपाथमा व्यपार गर्दै आउनु परेको उनले जनाए । शारिरीक अपाङग समेत भएका खत्री जब महानगरले एक हप्ताको अल्टिमेटम दियर फुटपाथमा व्यवसाय नगर्न चेतावनी दिएसंगै उनी पनि हाल आन्दोलित भएका हुन् । उनले भने “ महानगरलाई ५ हजार देखि ५० हजार जरिवाना दिने रकम भएको भए हामी सटर लियर व्यवसाया गर्ने थियौं, विहान र बेलुका केही घण्टा व्यापार गर्ने स्थान पहिचान गरी ठाउँ उपलब्ध गराएमा हामीले केही शुल्क पनि तिर्न तयार छौं तर महानगरले हामीलाई जवरजस्ती हटाउनु हुदैन् ।”
यस बिषयमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखराका सडक छेउछाउ र फुटपाथमा अब कसैले पनि कुनै पनि व्यापार र व्यवसाय गर्न नपाउने बताए । उनले भने “ पोखराकोे हितको लागि हामीले फुटपाथ हटाउने निर्णय गरेका हौं, यो अभियान सफल पारेरै छाड्छौं, अब हामी पछि हट्दैनौं, यदि पछि हट्नु परेमा कुर्सी छाड्न परे छाडौंला । ” सडकमा जो कसैले अब फुटपाथ व्यपार तथा व्यवसाय गरेमा महानगरले कारवाही गरी छाड्ने उनले चेतावनी दिएकाछन्। उनले भने “ जसरी उहाँहरु सडकमा आउनु भयो त्यसै गरी आफ्नो व्यबस्थापन आफै गर्ने हो, महानगरले फुटपाथे व्यवसायको बारेमा कुनै व्यबसथा गर्न सक्दैन्। ” पोखराका मुख्य बजार क्षेत्रमा फुटपाथलाई अतिक्रमण गरी व्यपार तथा व्यवसाय गर्न थालेसंगै महानगरले उनीहरुलाई नियन्त्रण गर्न पत्र सहित केही दिन अघि देखि एक हप्ताको म्याद दिएको छ । पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, पालिखेचोक, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, सभागृहचोक, बिरौटा, बगर, अम्मरसिंहचोक लगायतका बजार क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुले फुटपाथ अतिक्रमण गरेको पाइएपछि त्यसलाई हटाउन महानगरले सात दिने अल्टिमेट दिएको हो । मुख्य बजार क्षेत्रमा फुटपाथ अतिक्रण गरी व्यापार व्यवसाय गरेको सबैलाई पत्र दिइने र पत्र दिएको मितिदेखि सात दिन भित्र सामग्री नहटाए कारबाही गरिने भएको छ । ५ हजार देखि ५० हजार सम्म कारबाही गरिने महानगरपालिकाले बताएको छ ।




