बक्सिङका पुर्व खेलाडी तथा नेपाली खेलकुदमा सहयोग गर्दै आएका सिद्वार्थ बिक्रम भण्डारी सम्मानित भएका छन् । बक्सिङ परिवारले सोमबार काठमाडौं एक कार्यक्रमको आयोजना गरेर सिद्वार्थलाई सम्मान गरेको हो । बक्सिङका पुर्व खेलाडी सिद्वार्थ हाल बेलायतमा बस्दै आएका छन् । आर्थिक अभावमा परेका खेलाडी र प्रशिक्षकलाई उनले सहयोग गर्दै आएका छन् ।
लण्डनमा रहेर खेलकुदलाई निरन्तर सहयोग गर्दै आएका सिद्वार्थलाई नेपाल आएको समय बक्सिङ परिवारले सम्मान गरेको हो । उनले केही हप्ता अघि मात्र अन्तराष्ट्रिय फुटबलमा नेपालका लागि पहिलो गोल गरेका वाईवी घलेलाई आर्थिक सहयोग गरेका थिए । सम्मान ग्रहण गर्दै सिद्वार्थले सम्मानका लागि आफुले कहिल्यै सहयोग गर्ने काम नगरेको बताउनुभयो ।
बक्सिङ परिवारले खेलाडी र प्रशिक्षकलाई आर्थिक सहायता उपलब्ध गराउने उद्वेश्यले अक्षयकोषको समेत स्थापना गर्ने भएको छ । पुर्व अध्यक्ष राजिव श्रेष्ठले एक लाख रुपैयाँ राख्ने घोषणा गर्दै अक्षयकोष स्थापनालाई अघि बढाउने बताए । कार्यक्रममै सम्मानित भएका सिद्वार्थले समेत अक्षयकोषलाई एक लाख रुपैयाँ दिने घोषणा गरे ।




