गुठी संस्थान प्रधान कार्यालय काठमाण्डौद्वारा पोखरा ३ नारायणस्थान स्थित श्री नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुली सम्मानित भएका छन् । नारायण गुठी जग्गाको खोजी, दर्ता र व्यवस्थापन गर्ने कार्यमा प्रशंसनीय योगदान गर्नुभएकोले गुठी संस्थानको ५६ औं वार्षिकोत्सवको शुभअवसरमा प्रसंसापत्र र दोसल्लाद्वारा पराजुलीलाई सम्मानित गरिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गुठी सम्पदा र सम्पत्ति संरक्षण कार्यमा निरन्तर सहयोग रहने विश्वास सहित नारायणस्थान मन्दिरका अध्यक्ष पराजुली सम्मानित भएका हुन् ।

वि.सं.१९३७ पूर्व गणेश गिरिद्वारा स्थापित पोखराकै प्राचीन लक्ष्मीनारायण मन्दिरका अरबौं मूल्य पर्ने पोखरा महानगरपालिका भित्रका व्यक्तिका नाममा दर्ता भएका ५० रोपनी भन्दा बढी गुठीका जग्गाहरु पुनः नारायण गुठी अन्तर्गत ल्याउन गुठी संस्थानलाई पराजुलीको नेतृत्वको नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले विशेष सहयोग गरेको थियो । वि.सं.२०६१ सालमा समितिका संस्थापक कोषाध्यक्षको रुपमा संस्थामा प्रवेश गरी सचिवको भूमिका निर्वाह गर्दै वि.सं.२०७० सालदेखि निरन्तर रुपमा नारायणस्थान मन्दिरको नेतृत्व गर्दै आएका पराजुली पोखराकै धार्मिक सामाजिक क्षेत्रमा कृयाशील छन् । धार्मिक सांस्क्ृतिक, सामाजिक, शैक्षिक, परोपकारी कार्यका लागि उदात्त भावनाले ओतप्रोत भै आफ्नो निजी सम्पत्ति माथिको हक छाडी धार्मिक, सांस्कृतिक एवं सार्वज्निक कार्यमा अर्पण गर्ने सोंचबाट शुरु भएको गुठी व्यवस्था अन्तर्गत गुठी सम्पत्तिबाट प्राप्त हुने गुठी रकम राज्यकोषबाट अलग गरी छुट्टै निकाय मार्फत व्यवस्थापन र संचालन गराउने उद्देश्यले वि.सं.२०२१ साल कार्तिक १७ गते गुठी संस्थान स्थापना गरिएको थियो ।




