केन्द्रीय तथ्यांक विभागले गण्डकी प्रदेशको अघिल्लो वर्षसम्मको यथास्थिति बारेको तथ्यांक बिहीबार सार्वजनिक गरेको छ । नेपालको आर्थिक अवस्था तथा रोजगारीबारे जानकारी लिने हेतुले विभागले गत वर्ष देशव्यापी तथ्यांक संकलन गरेको थियो । तथ्यांक अनुसार प्रदेशभर सबैभन्दा औद्योगिक प्रतिष्ठान कास्कीमा र त्यसपछि नवलपुरमा देखिएको छ । गण्डकी प्रदेशभर भएका जम्मा १ लाख औद्योगिक प्रतिष्ठानमध्ये कास्कीमा मात्रै ३० हजारवटा रहेको तथ्यांक कार्यालय कास्कीले जनाएको छ । नवलपुरमा १२ हजार प्रतिष्ठान छन् । विभागका अनुसार सबैभन्दा कम औद्योगिक प्रतिष्ठान मनाङ र मुस्ताङमा छन् । तथ्यांक अनुसार मनाङमा ४ सय र मुस्ताङमा ७ सय औद्योगिक प्रतिष्ठान रहेको पाईएको छ । विभागका तथ्यांक अधिकृत महेश प्रधानका अनुसार नेपालभर भएका ९ लाख प्रतिष्ठानमध्ये काठमाडौंमा मात्रै १३ प्रतिशत रहेका छन् ।




