प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएको समयभन्दा अगाडी नै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । बुधबार सिंहदरबारस्थित एक्सन रुमबाट बिभिन्न राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माणको अवस्थाका बारेमा जानकारी लिदै प्रधानमन्त्री ओलीले अन्य आयोजना भन्दा राष्ट्रिय गौरवको आयोजना निकै महत्वपूर्ण रहेको भन्दै निर्धारित समयभन्दा अगाडी नै सम्पन्न हुनेगरि काम गर्न मन्त्री, सचिव, आयोजना प्रमुख लगाएतलाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका योजनाहरु गौरवमय हुनुपर्ने समेत बताउनुभयो । सम्बन्धित मन्त्रीलाई सँगै राखेर प्रधानमन्त्री ओलीले भिडियोमार्फ एक्सन रुमबाटै आयोजनाको अनुगमन गर्नुभएको हो ।
आयोजनाहरुको निर्माण कार्य सन्तोषजनक पाइएको प्रधानमन्त्रीले बताउनुभएको ऊर्जा,जलश्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जानकारी दिनुभयो । बुधबार प्रधानमन्त्री ओलीले पोखरा र भैरहवाका अन्तराष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोशी विधुत योजना, भेरी–बवई डाइभर्सन, रानीजमरा, सिक्टा सिंचाई योजनाको जानकारी लिनुभएको मन्त्री पुनले बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे बेलाबेला भिडियो कन्फ्रेन्समार्फत जानकारी लिँदै आउनुभएको छ । आयोजनाको मुख्य काम हुने स्थानमा सिसी क्यामेरा जडान गरिएकाले प्रधानमन्त्री ओलीले सम्बन्धित आयोजनाको काम प्रत्यक्ष हेर्ने गर्नुभएको मन्त्री पुनले बताउनुभयो ।




