पोखरा पल्टनले महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) को अन्तिम खेलमा जित निकालेको छ । सोमबार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गर्दै पोखराले सान्त्वना जित निकालेको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय २३ रनको मध्यम लक्ष्य पोखराले १७ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । जितसँगै पोखराले एक जितसहित प्रतियोगिताको अन्त्य गरेको छ । अन्तिम खेलमा जित निकाले पनि पोखरा प्ले अफमा पुग्न सकेन् । ललितपुर भने जितविहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा चितवन राइनोज फाइनल पुगिसकेको छ । यस्तै क्याट क्विन्स काठमाडौं र विराटनगर टाईटन्स भने लिमिनेटरमा पुगेका छन् । अब काठमाडौं र विराटनगरले मंगलबार हुने लिमिनेटरमा प्रतिस्पर्धा गर्ने छन् । विजेताले बिहिबार हुने फाइनलमा चितवनको सामना गर्नेछ ।




