नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा शुक्रबारबाट काठमाडौंमा शुरु भएको छ । आईसीसीको निलम्बन पछि पहिलो पटक हुन लागेको साधारण सभाबाट निर्वाचित हुने नयाँ नेतृत्व आएपछि निम्बन फुकुवा हुने आईसीसीले आश्वासन दिएकाले यो साधारण सभालाई विशेष महत्वका साथ हेरिएको छ ।क्यानको सधारणसभाको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको बिकासका लागी वर्तमान सरकार गम्भीर भएर लागेको बताउनुभयो । उहाले जिम्मेवारीपूर्वक छलफल गरि योग्य व्यक्तिलाई सर्वसम्मतका साथ नेतृत्व चयन गर्न सुझाव दिनुभयो । मन्त्री विश्वकर्माले क्रिकेट खेलको विकास र यसलाई अगाडी बढाउने विषयमा छलफल गर्दा सवै जिम्मेवार ढंगले प्रस्तुत भएको अनुभव गरेको बताउनुभयो । उहाले नयाँ नेतृत्व आएपछि आईसीसीले लगाएको प्रतिबन्ध फुकुवा हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै राष्टिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले राष्ट्रिय खेल खेल्ने रंगशाला निर्माण गरिने जानकारी दिनुभयो । नेतृत्व चयनका लागि निर्वाचन शनिबार हुनेछ । क्यानको निर्वाचित कमिटि १७ सदस्यीय बन्नेछ । क्यानको नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दका बीचमा प्रतिस्पर्धा हुने निश्चित प्राय छ । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो । नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहाकार समितिले क्यानको विधान तयार गरेको थियो । सोही विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन गराउन लागेको हो । साधारण सभाबाट नयाँ नेतृत्व चयन भएसगै क्यान निलम्बनको ढोका खुल्ने अपेक्षा गरिएको छ । साधारण सभामा क्यानको जिल्ला र प्रदेशबाट ५९ सदस्य प्रतिनिधि काठमाडौं आएका छन् । सदस्य संख्याको बहुमतले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ ।




