१३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी समितिले प्रतियोगीताको तयारीलाई तीव्रता दिन उपसमितिलाई पूर्णता दिएको छ । भदौ २६ गतेको मन्त्रिपरिषद बैठकले साग कार्यविधि पारित गरेपछि बिहीबार सिंहदरबारमा बसेको तयारी समितिको बैठकले कार्यविधिमा उल्लेख भएअनुसारका उपसमितिमा संयोजकसहित सदस्यहरुलाई पूर्णता दिएको हो । साग तयारी समितिको बैठक बैशाख २६ गतेयता बस्न सकेको थिएन । सागका लागि प्रधानमन्त्रीको संयोजकत्वमा ११ सदस्यीय निर्देशन समिति, खेलकुद मन्त्रीको संयोजकत्वमा २५ सदस्यीय तयारी समिति र सदस्यसचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यकारी समिति यसअघि नै निर्माण भइसकेको छ । तयारी समिति अन्तर्गतका १५ उपसमितिले बिहीबार पूर्णता पाएसँगै सागको तयारीले पनि तीव्रता लिने अपेक्षा गरिएको छ । सागका लागि ६६ दिनको समय बाँकी रहँदासम्म पूर्वाधार, प्रशासनिक र राष्ट्रिय टिम तयारी कुनैले पनि पूर्णता पाउन सकेको छैन ।




