नेपालमा हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि १८ वर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोली साहारा एकेडेमी पोखराको खेलमैदान दोविल्लामा प्रशिक्षणमा जुटिरहेको छ । प्रतियोगिताको तयारीमा २५ खेलाडी सहित २९ सदस्यीय टोली अहिले अन्तिम तयारीमा लागिरहेको टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आगामी असोज ३ देखि १२ गतेसम्म काठमाडौँको हल्चोक स्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा हुने उक्त प्रतियोगीतामा नेपाल बाजी मार्ने गरि तयारीमा जुटेको हो ।
अखिल नेपाल फुटबल सघ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार टोलीमा गोलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना, डिफेन्डर विशाल बस्नेत, रन्दीप पौडेल, पद्म भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्बा र अञ्जन महर्जन अहिले प्रशिक्षणमा छन् । यस्तै मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल र नितिन थापा तथा फरवार्डमा ब्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी पनि अहिले पोखरामो दोविल्लामा प्रशिक्षण लिईरहेका छन् ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी रहेका छन् । च्याम्पियनशिपमा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा माल्दिभ्स र भुटान रहेका छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र भारत रहेका छन् ।




