प्रथम दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिप कात्तिकमा काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल नेटबल संघको आयोजनामा हुने च्याम्पियनसिप कात्तिक १ देखि ५ गतेसम्म नेपाली सेनाको स्पोर्टस् सेन्टर तथा फिजिकल सेन्टर लगनखेलमा हुने छ । प्रतियोगितामा नेपालसहित,भारत,पाकिस्तान,श्रीलंका,बंगलादेश र माल्दिभ्स गरि ६ देशबीच लिगकम नकाउटको आधारमा प्रतिस्पर्धा हुने संघले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि झन्डै ३१ लाख रूपैयाँ लाग्ने अनुमान संघको छ । जसमा १५ लाख रुपैयाँ सहयोग नागार्जुन नगरपालीकाको रहने बताइएको छ । त्यस्तै अन्य रकम विभिन्न ब्यापारी संघ संस्था र स्रोतबाट प्राप्त गर्ने संघका अध्यक्ष तथा नागार्जुन नगरपालिका मेयर मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो । नेपालले उक्त प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रियासुरु गरि सकेको बताइएको छ । सुरुवाती ६८ खेलाडीबाट ३७ हुँदै २२ खेलाडी छनोट भएका छन् । असोज दोस्रो साता अन्तिम १२ खेलाडी छनोट गर्दै बन्द्र प्रशिक्षणमा राखिने संघले जनायो । काठमाडौंका कुल ३२ विद्यालयमा नेटबल खेलको अभ्यास हुने गरेको संघले जानकारी दिएको छ ।




