नेपाल खेलकुद पत्रकार मञ्चले वरिष्ठ खेल पत्रकार राजु सिलवाललाई ‘एनएसजेएफ’ खेल पत्रकारिता सम्मान प्रदान गरेको छ । मञ्चको २४औं स्थापना दिवसका अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिलवाललाई सम्मान गरिएको हो । यसैगरी, मञ्चले युवा पत्रकार निशान राईलाई ‘सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कार’बाट सम्मानित गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत सुनार विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललगायतका खेल पदाधिकारीहरुले पुरस्कृत पत्रकारद्वयलाई सम्मानित गरेका थिए । कार्यक्रममा मन्त्री विश्वकर्माले खेलको क्षेत्रको बिकासका लागी सरकार गम्भीर भएर लागेको बताउनुभयो । मञ्चका पूर्वसदस्य स्वर्गीय सुमन भोम्जनको स्मृतिमा मञ्चले युवा खेल पत्रकारिता पुरस्कार आरम्भ गरेको हो । गोरखापत्र दैनिकमा आवद्ध भोम्जनको २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी निधन भएको थियो ।




