प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७६ सम्पन्न भएको छ । बुधबार जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति ट्रफि प्रतियोगिता विशेष समारोहका बीच समापन भएको हो । समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता(२०७६ मा विजयी खेलाडीहरु र टीमलाई ट्रफि प्रदान गर्नुभयो । प्रतियोगितामा विजयी पृतना तथा बाहिनीतर्फको समग्र खेलकुदमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री नं.१६ बाहिनी अड्डा, श्री मध्य पृतना हे.क्वा. तथा श्री उपत्यका पृतना हे.क्वा.लाई नगद तथा ट्रफि प्रदान गरिएको थियो । प्रधानसेनापति ट्रफि अन्तर्गत गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल श्री जगदल गण, द्वितीय हुने श्री विष्णुदल गण र तृतीय हुने श्री कालीबहादुर गणका खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र र पदक प्रदान गरिएको थियो ।
साथै गणतर्फको खेलकुदमा समग्रमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री जगदल गण, श्री पुरानो गोरख गण र श्री नं.१ जगदल गणलाई ट्रफि तथा नगद पुरस्कार प्रदान गरिएको हो । प्रधानसेनापति थापाले वर्षभरिका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरु क्रमशः हङकङमा सञ्चालन भएको द नर्थ फेस रेशमा अन्तर्रा्ष्ट्रिय रेकर्ड सहित स्वर्ण पदक, हङकङमै सञ्चालन भएको अर्को रेसमा रजत र सोलुखुम्बुमा सञ्चालन भएको एभरेष्ट एक्सट्रिम अल्ट्रा रेसमा कास्य पदक जित्न सफल भएका एथ्लेटिक्स खेलाडी जमदार पूर्ण तामाङ्ग तथा गणेशमान खुल्ला बक्सिङ्ग प्रतियोगिता र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा इन्द्रमाया अन्तर्रा्ष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा रजत पदक जित्न सफल बक्सिङ्गतर्फका महिला खेलाडी अमल्दार पुनम रावललाई ’अजय बल सम्पन्न ट्रफि’ तथा नगद पुरस्कार समेत सेनापति थापाले प्रदान गर्नुभएको थियो । समापन कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, पूर्व प्रधानसेनापतिहरु, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलगायतको उपस्थिति रहेको थियो ।




