अन्तरराष्ट्रियस्तरको डोरी तान्ने प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाउने भएको छ । थाइल्याण्डमा हुने १४ औ एशियाली डोरीतान प्रतियोगिता ‘टग अफ वार’ मा नेपालले पहिलो पटक सहभागिता जनाउने भएको हो । यहि भदौ २८ र २९ गते थाइल्याण्डको आयुथयामा हुने प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई आज विराटनगरमा बिदाई गरिएको छ । मोरङ जिल्ला डोरीतान संघले आयोजना गरेको कार्यक्रमकाबीच प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपालको झण्डासहित हौसला प्रदानगर्दै खेलाडीहरुलाई बिदाइ गर्नुभयो । प्रतियोगितामा सहभागिता जनाउन खेलाडी सहितको ११ जना टोली त्यसतर्फ जान लागेको हो । टोलीमा ८ जना खेलाडी सहित २ जना बैकल्पिक खेलाडी र १ जना टिम म्यानेजर रहेका छन । थाइल्याण्ड जाने टोली २७ गते काठमाण्डौबाट थाइल्याण्डकालागि उड्ने टीम क्याप्टन यूवराज चौधरीले जानकारी दिनुभयो । टीममा मोरङ,सुनसरी र नवलपरासीका खेलाडी छन । डोरी तान खेलको अन्तरराष्ट्रिय प्रतियोगितामा प्रदेश–१ ले सिंगो देशको प्रतिनिधित्व गर्ने मोरङ डोरी तान संघकी अध्यक्ष रिता न्यौपानेले बताउनुभयो । प्रतियोगितामा एशियाका विभिन्न २० देशले सहभागिता जनाउने बताइएको छ । सो अवसरमा बोल्नुहुंदै सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुद क्षेत्रको विकासलाई प्रदेश सरकारले उच्च प्राथमितामा राखेको बताउनुभयो । उहांले खेलकुदलाई ब्यवसायिक बनाउदै जिविकाको आधारसंग जोड्नेगरि विकास गरिने बताउनुभयो । गएको बर्षमात्र प्रदेश १ मा २२ वटा विधाका प्रदेशस्तरिय खेलकुद प्रतियोगिता आयोजना गरिएको उहांले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार