खेलकुद क्षेत्रका बिज्ञहरुले यस क्षेत्रमा हुने राजनीतिक हस्तक्षेपलाई अन्त्य नगरेसम्म बिकास हुन नसक्ने बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा खेलकुद बिकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथिको छलफलका क्रममा उनीहरुले अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि राजनीतिक हस्तक्षेप हुने गरेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । उनीहरुले केन्द्रदेखि तल्लो तहसम्मको खेलकुद सम्बन्धी संघसंस्थामा राजनीतिक नियुक्त हुने गरेको र त्यसमा खेलकुद नै नबुझेको मान्छे आउने कारण समस्या हुने गरेको बताए । बैठकमा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुव बहादुर प्रधानले खेल क्षेत्रले समग्र नेपालको गरिमा पनि बोेकेको भन्दै यसप्रति राज्य निकै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । खेलसम्बन्धी संघ संस्थालाई बाटो देखाउने काम राज्यको भन्दै नीति नियम भन्दा बाहिर रहेर काम गरे राज्यले कारवाही गर्नसक्नुपर्ने उहाको भनाई छ । त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरुले पनि राज्यले यस क्षेत्रमा लगानीका साथै ग्म्भीरता पूर्वक नियमन गर्नुपर्ने बताएका थिए । सांसदहरुले यस क्षेत्रमा हुने गरेको बिकृतिलाई अन्त्य गर्नका लागी पनि बिधेयकमाथिको छलफललाई तिव्रता दिनुपर्ने धारणा राखेका थिए ।




