राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्नतिको काम सोमबारदेखि प्रारम्भ गरेको छ ।
राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले मैदानको घाँस काटेर स्तरोन्नति कार्यको प्रारम्भ गरेका हुन् । सो अवसरमा सदस्य सचिव सिलवालले फुटबल मैदान तयार गर्न पर्याप्त समय रहेको बताउँदै तीन दिनमा घाँस काट्ने काम सक्ने र तीन दिनमा मैदानको खाल्डाखुल्डी मिलाएर घाँस रोप्ने कार्य प्रारम्भ गर्ने जानकारी गराए ।
उनले मैदानमा घाँस रोप्ने काम सकिएपछि ४५ दिनभित्र मैदान तयार गरिसक्ने पनि बताए । राखेपले १३ औं दक्षिण एसियाली खेलकुद (साग) र सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली देशको दोस्रो चरणको छनोट खेलका लागि मैदानको स्तरोन्नति सुरु गरेको हो ।
विश्वकपअन्तर्गत नेपालले खेल्ने खेल रंगशालामै हुने बताइएको छ । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । समूहमा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । नेपालले भदौ १९ गते कुवेतसँग खेल्दै विश्वकप छनोटको सुरुआत गर्नेछ । नेपाली टोली पहिलो खेल खेल्न अहिले कुवेत गइसकेको छ ।




