नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा पोखराको लामाचौरमा शनिबार देखि राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु भएको छ । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको उक्त प्रतियोगितामा शनिबार गण्डकी प्रदेश र यू—डाईमण्ड एकेडेमि काठमाण्डौंले जितेकाछन्।
शनिबार विहान भएको पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौंलाई २५—१४, २५—११, २५—१५ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी दोश्रो खेलमा यू—डाईमण्ड एकेडेमिले चितवन टाईगर्स क्लवलाई २५—१४, २५—२०, २५—१४ को सोझो सेटमा पराजित गरेको हो ।
शनिबार हुने भनिएका दुई खेल अत्याधिक बर्षादका कारण स्थगित भएको छ । गण्डकी प्रदेश बिरुद्ध श्रीराम खेलकुद विकास समिति दाङ बिच खेल जारी रहदा लगातार गण्डकी प्रदेशले दुई सेट लिएसंगै तेश्रो सेटमा अत्याधिक पानी परेको हुनाले उक्त खेल स्थगित भएको नेपाल भलिवल संघका केन्द्रिय उपाध्यक्ष यम बहादुर गुरुङले बताए । त्यसै गरी शनिबार हुने भनिएको अन्तिम खेल न्यू—डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लव बिचको खेल स्थगित भएको हो । स्थगित खेल आइतबार विहान ७ बजे पछि हुने भएको प्रतियोगिताका खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । स्थगित खेल बाहेक आइतबार लिग चरणका ४ खेल हुने भएकाछन्।
यसैबिच, सोमबार सम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले गरे । कार्यक्रममा बोल्दै उनले नव आदर्श सामुदायिक विकास समाजलाई अन्तराष्ट्रिय स्तरकै भलिवल प्रतियोगिता गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न राखेप तयार रहेको जनाए । उनले भने “छात्रा भलिवलको रुप राष्ट्रिय भलिवल भएकोले अब राष्ट्रिय भलिवलको सुधारिएको रुप अन्तराष्ट्रिय स्तरकै भलिवल प्रतियोगिता हुनु पर्छ तपाईहरुले आयोेजना गर्नुहोस, राखेपको क्यालेण्डरमै यसलाई समेट्नुहोस हामी सहयोग गछौं । ” नेपालीहरुको सवै भन्दा बढी लामो समयसम्म मनाइने पर्वको रुपमा तिज पर्व रहेको उल्लेख गर्दै राखेप सदस्य सचिव शिल्वालले काठमाण्डौंमा जित पर्वको एक महिना अघि देखि विभिन्न पार्टी प्यालेसमा पार्टी हुने गरेको बताए ।
यही भदौं १६ गते सम्म इन्द्रराज्य लक्ष्मि माविको परिसमा संचालन हुने उक्त प्रतियोगितामा प्राविधिक कारण डिफेन्डीङ्ग च्याम्पियन शसस्त्र प्रहरी वल (एपिएफ) सहभागि नहुने भएकोे छ । प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैया र तेश्रो हुनेलाई २५ हजार ५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ ।
यसैबिच, महोत्सवमा शनिबार सम्पन्न भएको नरबहादुर बानिया स्मृति गण्डकी प्रदेश स्तरीय सितेरियो कराँते प्रतियोगितामा गोर्खा जिल्ला प्रथम भएको छ । प्रतियोगितामा गोर्खाले ६ स्वर्ण, १ रजत र ३ काँस्य पदक सहित प्रथम भएको कास्की जिल्ला सितेरियो कराँते संघका अध्यक्ष सुरन्द्र गुरुङले बताए । प्रतियोगितामा २ स्वर्ण, ३ रजत र ५ काँस्य पदकका साथमा कास्की दोश्रो र २ स्वर्ण, १ रजत र ५ कास्य पदकको साथमा तनहुँ तेश्रो भएको हो । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १० जिल्लाका एक सय २० जना खेलाडीहरु सहभागि भएको संघले जनाएको छ ।
उक्त महोत्सव अन्र्तगत तिज गित प्रतियोगितामा १३ टिमको सहभागिता रहेको महोत्सव प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए । शनिबार चोलेन्द्र पौडेल, माया गुरुङ, सुरज आचार्य लगायतका कलाकारको प्रस्तुती रहेको सांस्कृतिक संयोजक दीलबहादुर थापाले बताए ।
डिस मिडिया प्रा.लि. प्रमूख प्रायोजकको रुपमा रहेको महोत्सवमा प्रायोजकका रुपमा पोखरा मिक्स्चर सेवा समिति लामाचौर, सह प्रायोजकका रुपमा हङ्गकङ्गमा रहनुहुने कुब्जे दिदी बहिनी समुह हङ्गकङ्गको सहकार्य रहेकोे छ । महोत्सवमा ४० भन्दा बढी स्टलहरु रहेको समाजका अध्यक्ष कमलबहादुर थापाले बताए ।




