नेपाल क्योकुशिन कराँते संघले संघका सचिव अजय महर्जनलाई उक्त पदबाट मुक्त गरिएको स्पष्ट पारेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो जानकारी गराएको हो । महर्जनले संघको विधानअनुरुप काम नगरेको, संघको लेटरप्याड तथा छापको दुरुपयोग गरेको, अवैधानिक रुपमा सञ्चालित गुर्जुधारा शाखा दोजोलाई प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएको, महत्वपूर्ण बैठक तथा सेमिनारहरुमा धेरै पटकसम्म अनुपस्थित रहेको, संघभन्दा बाहिर रहेका संघहरुमा रहेर काम गरेकोले उक्त पदबाट हटाईएको संघको दाबी छ । पत्रकार सम्मेलनमा महासचिव सुर्य बहादुर बुढाथोकीले महर्जनले संघको विकास विस्तारमा असर पुर्याउनु, संघको लेटर प्याड र छापको दुरुपायेग गर्नु, ब्ल्याक बेल्ट खरिद बिक्रिजस्तो लाजमर्दो काम गरेको आरोप लगाउनुभयो । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कृष्णचन्द्र बानियाँले कारबाहीको बारेमा जानकारी गराउनुभयो । पूर्व राष्ट्रिय खेलाडी तथा क्योकुशिन कराँते काईकानका नेपाल प्रमुख र महासचिव राजेन्द्र सुवेदीले पनि संघ आँफैंमा राम्रो भएको सुनाउँदै केही गलत मान्छेका घिनलाग्दो कामले गर्दा बदनामी भएको बताउनुभयो ।




