पाकिस्तानले कस्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारतसँग भएको गोली हानहानमा फेरि एक जना सैनिक मारिएको जनाएको छ।

पाकिस्तानी सेनाका प्रवक्ता असिफ गफुरले शुक्रबार बिहान ट्वीट गर्दै आफ्ना सिपाही मोहम्मद सिरजले गोली हानाहानामा ज्यान गुमाएको उल्लेख गरेका छन्।

भारतले  गत अगस्ट ५ मा जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गरेपछि दुई देशबीच तनाव चुलिएको छ।

पाकिस्तानी सेनाले त्यसपछि भएका गोली हानाहानमा परी अहिलेसम्म आफ्ना ४ सैनिक मारिएको बताएको छ। त्यस्तै भारतीय सेनाका पाँच जना मरेको पाकिस्तानी सेनाको दाबी छ।

भारतले भने पाकिस्तानी सेनाको उक्त दाबीलाई अस्वीकार गरिदिएको छ।

पाकिस्तानले जम्मु कस्मिरको अनिश्चित स्थितिबाट ध्यान मोड्नका लागि भारतले गोलाबारी गरेको आरोप लगाएको छ।

-Setopati.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार